हर्क गुरुङसँग रोचक र घोचक भेट

ck-lal

सिके लाल
डा. हर्क गुरुङ आफ्नो मौलिक भाषा हराएका व्यक्तिमध्ये पर्नुहुन्थ्यो । उहाँ साहै्र ठूला अन्तर्राष्ट्रिय स्तरको विद्वान् हुनुभयो – नेपालका लागि गौरव । संसारकै लागि योजनाशास्त्रीहरुमा, योजनाविद्हरुमा प्रकाण्ड । भूगोलका ज्ञाता । तर मातृभाषामार्फत् आफ्नो माटोसँग जुन जरा जोडिएको हुन्छ, मातृभाषामार्फत् जुन पोषण पाउँछ व्यक्तित्वले, त्यो पोषण उहाँले पाउनुभएन । त्यसले गर्दा उहाँ हकी तर ठाडो बोल्ने हुनुभयो ।

तीन असफल प्रयास

सन् १९८५—८६ तिर होला, बसाइँसराइ प्रतिवेदन आएको थियो । हामी ‘गुरुङ प्रतिवेदन’ भन्थ्यौं । त्यो प्रतिवेदनको विरोध भयो । हर्क गुरुङको पुत्ला पनि जलाइए । प्रतिवेदन पनि जलाइए ।

म युवा नै थिएँ । उहाँसँग एकचोटि भेटेर कुरा त गरौं भनेर फोन नम्बर खोजें मैले । उहाँको घरमा फोन गरें ।

‘मन्त्रीज्यू हुनुहुन्छ ?’, मैले सोधेें ।

कसले फोन उठाएको थियो, थाहा भएन । मलाई लाग्छ, उहाँकी श्रीमती अथवा अरु कोही हुनुपर्छ । महिलाको स्वर थियो । मैले सोध्ने आँट पनि गरिनँ । उताबाट त ‘यहाँ कोही मन्त्री छैन, यो त मन्त्रीको घर होइन’ भन्ने पो उत्तर आयो ।

‘यो डा. हर्क गुरुङको घर होइन ?’, मैले फेरि सोधें ।

उताबाट जवाफ आयो, ‘हो, डा. हर्क गुरुङको घर हो ।’

हाम्रोमा त एकपटक मन्त्री भएपछि आजीवन मन्त्री नि त ! त्यस हिसाबले मन्त्रीज्यू भनेको थिएँ तर उहाँले चित्त दुखाउनुभयो, ‘पञ्चायतकालमा मन्त्री भाको सधैंभर मन्त्री भनिराख्नुपर्ने ?’

मेरो थप कुरा नसुनी फोन राखिदिनुभयो ।

हर्क गुरुङलाई भेट्ने मेरो पहिलो प्रयत्न त्यत्तिकै डुब्यो ।

तुरुन्तै गरौं भने झन् रिसाउनुहोला भनेर दश–पन्ध्र दिनपछि फोन गरें । मैले ‘मन्त्रीज्यू’ भन्ने गल्ती गरिनँ । मैले ‘डा. हर्क गुरुङ हुनुहुन्छ’ भनें । उहाँ विदेश जानुभएको रहेछ । उहाँ फर्किने तिथिमिति टिपें । मलाई ठ्याक्कै तिथिमितिचाहिँ सम्झना छैन ।

उहाँ आउनुभएपछि फेरि फोन गरें । उहाँले मेरो नाम सोध्नुभो । मैले नाम भन्नासाथ उहाँले अंगे्रजीमा जवाफ दिन थाल्नुभो । जबकि म नेपालीमा बोल्दैथिएँ । पाँच–दश मिनेटसम्म म नेपालीमा, उहाँ अंग्रेजीमा जवाफ दिने क्रम चलेपछि मैले पनि अंग्रेजीमै कुरा गर्न थालें ।

मैले उहाँलाई भनें, ‘म तपाईंलाई भेट्न चाहन्छु । मलाई तपाईंको बसाइँसराइसम्बन्धी प्रतिवेदन चित्त बुझेको छैन । म छलफल गर्न चाहन्छु ।’

उहाँले भन्नुभो, ‘त्यो कमिटीको रिपोर्ट हो । गुरुङ रिपोर्ट भन्नु गलत हो । तपाईंले रिपोर्ट पढ्नुभाछ ?’

अहिले मलाई ठ्याक्कै सबै कुरा सम्झना छैन । ३० वर्षअगाडिको कुरा हो यो । उहाँलाई भेट्ने तेस्रो प्रयास पनि विफल भयो ।

संयोगको भेट

उहाँसँग भेट भयो संयोगले । म कुनै पर्यटनबारे अंग्रेजीमा लेख्ने गर्थें । नगरकोट घुम्न जानुस्, भक्तपुर हेर्न जानुस् भन्नेखालका लेख लेख्थें । मेरो लेख दैनिक छापिन्थ्यो । त्यही पत्रिकाको एउटा रिसेप्सनमा उहाँ पनि आउनुभएको थियो । सायद माउन्टेनियरिङ एसोसिएनसँग सम्बद्ध हुनुहुन्थ्यो उहाँ ।

परिचय भएपछि उहाँले सोध्नुभो, ‘के गर्नुहुन्छ ?’

मैले भनें, ‘म इन्जिनियर हुँ ।’

मैले उहाँलाई ‘तीन–तीनपटक फोन गर्दा पनि भेट हुन सकेन तर आज संयोगले तपाईसँग भेट भयो’ भनें ।

उहाँले भन्नुभो, ‘नाउ वी क्यान मिट ।’ राम्रै कुराकानी भयो ।

उहाँ मेरा लेखहरु एकएक पढ्नु हँुदोरहेछ ।

उहाँले भन्नुभो, ‘भक्तपुरबारे राम्रो थियो । तर हिजो नगरकोटबारे एकदम रद्दी ।’

मैले भनें, ‘डाक्टरसाब म मधेसी परें । मलाई सबै हिमाल उस्तै लाग्छ । बाटो बनाउँदा नगरकोट दशौंपटक गएको थिएँ । मलाई नगरकोटबारे थाहा थियो । मैले लेखिदिएँ ।

हिमाल कुन हो, टाकुरा कुन हो ? म छुट्याउनै सक्दिनँ ।’

मैले इमान्दारिता आफ्नो साथ कुरा राखें । यस्तै किसिमको कुरा भयो ।

भारतको नाकाबन्दी

उहाँसँग सन् १९८८ तिर पुनः भेट भयो । उहाँका आफ्ना व्याख्या थिए । उहाँ विद्वान् हुनुहुन्थ्यो ।

उहाँसँग बसाइँसराइ प्रतिवेदनबारे कुरा भयो । उहाँले भन्नुभो, ‘तपाईंले रिपोर्ट पढें भन्नुभो, तर राम्ररी पढ्नुभा रहेनछ ।’

मैले भनें, ‘होइन, मैले दुई–तीनपटक पढेको छु । मैले नेपाली नबुझेको पो हो कि ?’

उहाँले भन्नुभो, ‘पढ्ने भनेको त्यससँग सम्बद्ध रिफ्रेन्सका कुरा हेर्नुपर्छ । त्यो रिपोर्टमात्र पढेर हुँदैन । त्यो आइडिया कहाँबाट आयो ? विचार कहाँबाट आयो ? त्यस्ता पुस्तक पढ्नुुस् । त्यसको समसामयिक वा तत्कालको ज्ञानको स्तर के छ, त्यस्ता लेख पढ्नुस्, जर्नल ल्याउनुस्, रिपोर्ट हेरेर पनि कोही जान्ने हुन्छ ?’

यस किसिमले एकदम मोटो कुरामात्र भयो । पहिलो संयोगवश भएको भेटलाई छोड्ने हो भने पहिलो भेट यही थियो ।

सन् १९८९ तिर भारतले आर्थिक नाकाबन्दी गरेको थियो । यस्तो बेला सरदार यदुनाथ खनाल, मोहम्मद मोहसिन, हर्क गुरुङजस्ता नेपालका कहलिएका विद्वान्हरु भेटौं भनेर उहाँलाई भेटेको थिएँ । उहाँले नाकाबन्दीलाई खास अस्वाभाविक रुपमा लिनुभएन । उहाँले जे भइरहेको छ, त्यो त हुनु नै थियो भन्ने किसिमले मात्र लिनुभयो ।

द्वारिकानाथ ढुुंगेलको टोली भेट्न जाँदा उहाँले नेपालमा हाहाकार (स्कारसिटी) हुनु नै थियो, भएकै राम्रो, यसबाट कि वार, कि पार हुन्छ भन्नुभाथ्योे, त्यसरी नै भन्नुभो मलाई पनि ।

मैले उहाँसँग अलिकति बहस पनि गरें, ‘डाक्टरसाबहरुजस्तो मान्छे, दुनियाँ देखेको मान्छे । यसरी हलुका रुपमा लिन मिल्छ ?’

उहाँले भन्नुभो, ‘होइन, मैले नाकाबन्दी प्रकरणलाई हलुका रुपले लिएकै छैन, मैले एकदम सिरियस रुपले लिएको छुु ।’

फोटो : बसुधा गुरुङ

फोटो : बसुधा गुरुङ

योग्य र अयोग्य

एकपटक रोचक भयो । म पुल्चोकमा इन्स्टिच्युट अफ् इन्जिनियरिङमा मास्टर पढ्दै थिएँ । सायद सन् १९९६ तिरको कुरा हुनुपर्छ । मेरा एकजना शिक्षक हुनुहुन्थ्यो डा. अम्बिकाप्रसाद अधिकारी । उहाँ र डा. हर्क गुरुङ आइयुसिएनको कन्ट्री डाइरेक्टर पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । मैले एउटा लेखमा सन्दर्भवश उपयुक्त पात्रचाहिँ डा. हर्क गुरुङ थिए तर नोकरी पाए डा. अम्बिकाप्रसाद अधिकारीले भनेर लेखेको थिएँ ।

मैले लेखमा ‘यो बाहुन–क्षेत्रीको देश हो । डा. हर्क गुरुङजस्ता विद्वान् त्यो पदका लागि उपयुक्त पात्र हुँदाहुँदै नोकरी पाउन अरु कुरा पनि चाहिँदो रहेछ’ भन्ने किसिमले एक–दुई अनुच्छेद लेखेको थिएँ । डा. अम्बिका अधिकारीको पुस्तकको समीक्षा गर्दा यति लेखेको थिएँ । डा. गुरुङले मेरो लेख पढ्नुभएछ ।

कताबाट नम्बर खोजेर मलाई फोन गरेर भन्नुभयो, ‘तपार्इंले त मेरोबारे एकदम बढाइँचढाइ लेखिदिनुभएछ ।’

मैले भनें, ‘मैले केही पनि बढाइँचढाइ लेखेको छैन । तपाईं उपयुक्त पात्र हुनुहुन्थ्यो भनेर लेखेको हुँ । त्योभन्दा अरु केही लेखेको छैन ।’

उहाँले भन्नुभो, ‘भेटमा गफ गरौंला ।’

ज्ञानेन्द्रले खेले भिलेन

माओवादी जनयुद्ध भर्खर सुरु भएको थियो । उहाँसँग भेट भयो । माओवादीबारे कुरा भयो । उहाँले मलाई जिस्काउनु पनि भयो, ‘सबै पहाडीलाई मधेसमा ल्याएर बसायो भनेर तपाईंहरु मलाई गाली गर्नुहुन्थ्यो । अब गाली गर्न सक्नुहुन्छ ? हेर्नुस्, माओवादीहरुले बन्दुक चलाउँदै जाने हो भने चार–पाँच वर्षमा सबै मध्यपहाड खाली भएर मधेसमा झर्छ । तपाईंहरुले पहाडी जनता काठमाडौंमा आउँछन् भन्ने ठान्नुभाछ ? काठमाडौंमा कतिजनाले जग्गा किन्न सक्छन् ? तपाईंहरुले केही गर्नुभएन भने सब मधेस झर्छन् । जहाँजहाँ चिनजान छ, यो समस्या समाधान गर्नतिर लाग्नुस्, नत्र भाँडिन्छ ।’

उहाँको दिमागमा एउटा कुरा गहिरिएर बसेको थियो । जतिपटक बहस गरे पनि उहाँ मान्न तयार हुनुभएन ।

म उहाँसँग बहस गर्दै भन्थें, ‘त्यो तिरङ्गालाई सलाम गर्ने तपाईंको पुर्खा, युनियन जातिलाई सलाम गर्ने तपाईंको पुर्खा अनि भारतमुखी हुनेचाहिँ हामी ?’

उहाँले त्यो त नोकरी हो नि, कमाइ गरेर यहीं ल्याएको हो नि भन्ने किसिमले मात्र लिनुभयो ।

उहाँसँग कार्यक्रमहरुमा कहिलेकाहीँ भेट हुन्थ्यो । एसडीसीले २००५ फ्रेबुअरी दोस्रो हप्ता कार्यक्रमको तयारी गरेको थियो । माओवादीसँग सम्बन्धित धेरै मान्छेलाई बोलाइएको थियो । तर, ज्ञानेन्द्र शाहले कु गरेपछि त्यो कार्यक्रम सर्‍यो । कोही आउन चाहनुहुन्छ भने अफिसमै सानो छलफल राखेका छौं भनेर एसडीसीका मान्छेले मोटरसाइकलमा घरघरमा खबर गरेको थियो । गोदावरीमा हुने भनिएको औपचारिक कार्यक्रमचाहिँ नहुने भयो ।

म एसडीसीकै अफिसमा सहभागी भएँ । त्यहाँ उहाँसँग भेट भयो । राजनीति, मानवअधिकारबारे धेरै कुरा भए ।

लन्च खाने क्रममा उहाँले के भन्नुभयो, ‘अब यो देशमा तपाईंहरुले केही गरे हुने हो, नभए यो देश दरबारको बाटोमा गयो ।’

मैले उहाँलाई सोधें, ‘तपाईंहरु भनेर कसलाई भन्नुभा’ डाक्टरसाब ? यो तपाईंहरुमा चाहिँ तपाईं पर्नुहुन्छ कि पर्नुहुन्न ?’

‘पर्न त हामी जनजातिहरु पनि पर्छौं । तर, हामी जनजातिहरु अलि धेरै शोषण नभएसम्म बोल्दैनौं । बोलेपछि एकैचोटि हावा लाग्ने हो । तपाईंहरु त धेरै पहिलादेखि बोलिरहेकै हो, कराइरहेकै हो । मलाई नै गाली गरे पनि गाली गरिरहेकै हो, सत्तासँग लडिरहेकै हो । तपाईंहरुले केही गरे मात्र हुन्छ ।’

उहाँसँग व्यक्तिगत रुपमा अन्तिम भेटघाट यही हुन पुग्यो । समूहमा एक–दुई अरु पनि भेटघाट भए ।

राजाले शासन हातमा लिएपछि दक्षिण एसियाली मानवअधिकारको टिम आउने भएको थियो । हामी दुई–चारजना उहाँको अफिसः न्यु एरामा गएका थियौं । हामीले उहाँलाई मानवअधिकारको अवस्था एकदमै नराम्रो भयो, दक्षिण एसियाली टिम आउँदै छ, तपाईंहरुजस्ता मानिसले बोल्नुपर्छ भनेर कुरा राख्यौं ।

उहाँले भन्नुभो, ‘राजा भएको देशमा केको मानवअधिकार ? जनता भएपछि, नागरिक भएपछि अनि हुन्छ बराबरी । राजा हुनासाथ त प्रजा–प्रजामा फरक हुन्छ । राजा भएको ठाउँमा मानवअधिकार–सानवअधिकारको कुरा हुँदैन । तर तपाईंहरु भन्नुहुन्छ भने म आउँछु, तपाईंहरु जेजे भन् भन्नुहुन्छ, म भनिदिन्छु किनभने तपाईंहरुले राम्रै काम गरिरहनुभएको छ ।’

उहाँसँगको अन्तिम भेट यही हुन पुग्यो ।

===

गुरुङ डक्ट्राइनमै गएर ठोक्किने

डा. हर्क गुरुङको व्यक्तित्वको विभिन्न पाटा छन् । उहाँको व्यक्तित्वमध्ये मैले चिनेको र सुनेको पहिलो पाटो हो राजनीतिकर्मीको रुपमा ।

त्यत्रो विद्वान मान्छे !

म त्यतिबेला नेपाली कांग्रेसका नेताहरुसँग सम्पर्कमा थिएँ । हामी कुरा गथ्र्याैं, त्यत्रो विद्वान मान्छे, कसरी यो राजाको तन्त्रमा लाग्या होला ? नेपाली कांग्रेसका अलि पढैयाहरुले भन्थे, विद्वानहरुले निरंकुश व्यवस्था नै रुचाउँछन् । किनभने त्यहाँ तिनलाई कसैले विरोध नगरी अनेक प्रयोग गर्न पाउँछन् । प्रजातन्त्रमा जनता बोल्छन्, प्रयोग गर्न गाह्रो हुन्छ । त्यसैले जो जति धेरै ठूलो विद्वान, उसले त्यति धेरै निरंकुश व्यवस्था मन पराउँछ । यसमा कुनै अचम्म छैन ।

पछि पढ्दै जाँदा मैले डा. हर्क गुरुङलाई योजनाविदको भूमिकामा देखें । म पनि योजनाशास्त्र पढेको नाताले एउटा कुरा पक्का भन्नसक्छु, नेपालमा योजनाशास्त्रको पढाइको सुरुवात हर्क गुरुङबाट हुन्छ । त्यसैले नेपालको भौतिक योजनाका पितामह डा. हर्क गुरुङ भनिदिने हो भने कुनै फरक पर्दैन ।

उहाँ पितामह हुनुहुन्छ भन्दैमा पितामहका हरेक कुरा सही थियो भन्नु पनि जरुरी छैन । फेरि त्यो उहाँको गल्ती पनि होइन ।

विल डुरण्ड भन्ने अमेरिकी दार्शनिक भन्छन्, मान्छेका अवगुण आफ्नो समयबाट लिएको हुन्छ, उसका उपलब्धिमात्र प्रयत्नबाट आउने हो ।

क्षेत्रीय र भौगोलिक योजनाको आतंक

उहाँले सन् १९६० का दशकमा योजनाशास्त्र पढ्नुभएको थियो । त्यसबेला विश्वमा क्षेत्रीय र भौगोलिक योजनाको आतंकै थियो ।

क्षेत्रीय योजनाको आधारभूत मान्यता के भने एउटा यस्तो एकाइ हुन्छ, जहाँ स्रोतहरुबीच समवन्य गर्न सकियोस् । त्यहाँका लागि चाहिने उत्पादक पनि त्यहीँ होस्, त्यहाँका लागि खानी पनि त्यहीँ होस् । त्यहाँको रोजगार पनि त्यहीँ सृजना होस् । त्यहाँका लागि स्कुल र अस्पताल पनि त्यहीँ होउन् । क्षेत्रीय योजना सहरको क्षेत्र हो भने त्यहाँ पनि त्यस्तै हुनुपर्‍यो । जिल्लाका क्षेत्र हुन् भने त्यहाँ पनि त्यस्तै हुनुपर्‍यो । देशको हो भने त्यहाँ पनि त्यस्तै हुनुपर्‍यो । महादेशको हो भने त्यहाँ पनि त्यस्तै हुनुपर्‍यो । स्वतन्त्र र आत्मनिर्भर एकाइको अवधारणा क्षेत्रीय योजनाको मुटु थियो ।

भौगोलिक योजनामा पनि क्याचमेन्टको सिद्धान्तले बजार पिटेको थियो । क्याचमेन्ट सिद्धान्तले भन्छ, जसरी सानो खोला गएर तल ठूलो खोलामा गएर मिसिन्छ, त्यसरी नै आर्थिक विकासको बाटो पनि तलबाट माथि लानुपर्छ ।

क्षेत्रीय योजनाका लागि युएसआइडी, युएनडिपीका सल्लाहकारहरु आए । उनीहरुले योजनाबद्ध विकास नेपालमा हुनुपर्छ भन्ने आवधारणा ल्याए । क्षेत्रीय र भौगोलिक योजनालाई जोडे । जोडेपछि के भयो ? उत्तरदेखि दक्षिणको सडकको आवधारणा आयो ।

ठूलो मात्रामा बाहिरबाट सामान ल्याउँदा जहाजबाट ल्याउने हो, कलकत्ता पुर्‍याउने हो । जहाजबाट त्यसलाई सानो सानो टुक्रा गर्ने, सानो सानो टुक्रा गरेपछि त्यो रेलमा लोड गर्ने अनि रेलमा लोड गरेपछि नेपालको बोर्डरसम्म रेलबाट उतार्ने । फेरि सानो सानो टुक्रा पार्ने ट्रकमा लोड गर्ने, कहाँसम्म ट्रकमा जान्छ त्यहाँसम्म पुर्‍याउने अनि त्यसपछि फेरि सानो सानो टुक्रा गर्ने अनि ट्रकबाट डोकोमा लगाउने, डोकोबाट जहाँसम्म पुर्‍याउनु पर्ने हो, त्यहीँ पुर्‍याउने ।

यो क्याचमेन्ट अवधारणा पनि तल बग्ने सामान माथि पुर्‍याउने भन्ने भयो । यो पूरै उपभोगको नीतिमा आधारित भयो, उत्पादनको नीतिमा आधारित चाहिँ भएन । यस अवधारणामा क्याटरिङ टाउनहरु आउँछन् । जहाँ ट्रक रोकेर खाना खाइन्छ, त्यहाँ खाना खाने सहर बन्छन् । त्यसरी नै सर्भिसिङ टाउन बनेका हुन्छन् । जहाँ बसमा तेल हाल्ने हो, जहाँ पन्चर टाल्ने हो ।

तर यस्ता किसिमका अवधारणा दुइटै असफल भए । क्षेत्रीय अवधारणा किन असफल भयो त ? किनभने नेपालको उत्पादन प्रणाली, नेपालको मात्रै होइन पहाडकै उत्पादन प्रणाली यस्तो स्वतन्त्र रुपमा चलेकै छैन । नरेन्द्र मोदीले नेपाल आएको बेला भनेर गए, ‘पानी र जवानी पहाडके काम नही आनी ।’ यो त्यसै भनको होइन । त्यो गढवालतिरको एकदम पुरानो उखानजस्तै हो ।

जसरी पानी बगेर जान्छ फर्केर जाँदैन, त्यसरी नै यो उत्पादन प्रक्रिया पनि समथरतिर गएपछि समथरबाट माथि जाँदै जाँदैन, सबै समथरतिरै आकर्षित हुन्छन् ।

डा. हर्क गुरुङले विकास क्षेत्रहरुका पनि केन्द्रको कुरा गरे । पोखराले बाहेक न धनकुटाले गति लिनसक्यो, न त सुर्खेतले गति लिनसक्यो । दिपायलको त कुरै छाडिदिउँ । जे जति सहर बसे, त्यो त मधेसमा, पूर्व–पश्चिम राजमार्गको छेउछाउमा मात्र बसे । किनभने पानी र जवानी त काम नलाग्ने नै रहेछ । भन्दाखेरी अवधारणा नै गलत निस्क्यो ।

पश्चिमा पुस्तकको पढाइ

त्यो अवधारणा ती ठाउँमा भए सही हुनसक्थे, जुन ठाउँका टेक्सबुक उहाँले पढ्नुभएको थियो । त्यो त ग्रेट टेस्ट अफ युरोपको अनुभवका आधारमा लेखिएका, अमेरिकाको ठूलो प्लानसको आधारमा लेखिएका, अष्टे«लियाको ठूलो अन इन हाबिट्याट बासिन्दाविहीन अनुभवबाट लेखिएका, क्यानडाको अनुभवबाट लेखिएका, अफ्रिकाका ग्रेट जंगलबाट लेखिएका थिए । ती किताब हिमालको अनुभवमा आधारित थिएनन् । जति नै हिमाल हेरे पनि उहाँले टुरिष्ट भएर हेरिएको पुस्तकका आधारमा लेख्नुभएको थियो । बडो रमाइलो पढ्नचाहिँ, गज्जब राम्रो छ । उहाँको पढाइचाहिँ जम्मै पश्चिमा पुस्तकबाट भएका हुनाले त्यो अवधारणा नै एउटा गलत साबित भयो ।

राजनीति र अर्थनीतिलाई छुटाएर राख्न मिल्दैन । अर्थराजनीति शब्द त्यत्तिकै बनेको होइन । आचार्य विष्णु गुप्त (चाणक्य) ले किताब लेखेका छन् राजनीतिको, नाम राखेका छन् अर्थशास्त्र । अर्थशास्त्रको अंगे्रजीमा ‘इकोनोमिक्स’ भन्ने शब्द धेरै पछि आएको हो । पुरानो शब्द भनेको अर्थराजनीति नै हो । यसको अर्थराजनीतिसँग नजोडीकन आर्थिक योजना बन्दैन । यो क्षेत्रीय योजना राजनीतिसँग कतै कहीँ पनि जोडिएको छैन । त्यो योजना असफल हुनुको दोस्रो कारण थियो ।

डा. हर्क गुरुङ डक्ट्राइन

तेस्रो कारण, उहाँको योजनामा जनता थिएनन् । भन्ने बेलामा पचहत्तर जिल्ला । दुईटा जिल्लाको जनसंख्या जोड्ने हो भने मेरो गाउँको जनसंख्या बराबर हुँदैन ।

उहाँको राजनीतिलाई राजदरबारले प्रयोग गरेर फ्याँकीदियो । कागतीको रस निचोरेर फाल्याजस्तो उहाँलाई राजनीतिबाट फालिदियो । यसरी उहाँ राजनीतिमा असफल हुनुभयो । योजनामा पनि उहाँको योजना सफल भएन । उहाँको योजना सफल नभएको सबभन्दा ठूलो उदाहरण त अहिलेको नेपाल हो ।

अहिलेको नेपाल जे छ, त्यो यस्तो हुनुमा जति राजनीतिकर्मीहरुको दोष छ, योजनाविदहरुको पनि उति नै दोष छ । उनीपछि जति पनि नेपालका योजनाविद भए, उनीहरु डा. हर्क गुरुङ सिद्धान्तको घेराबाट बाहिर निस्कनै नसक्ने । उहाँको बौद्धिकता कति धेरै भने जोसुकै त्यहाँ पुगे पनि आखिर डा. हर्क गुरुङ डक्ट्राइनमा गएर ठोकीहाल्ने । त्यहाँबाट बाहिर आँटै गर्न नसक्ने ।

आँट गर्नलाई त उहाँको जति अध्ययन चाहियो, उहाँ जति नेपाल देखेको हुनुपर्‍यो । उहाँ जति राम्रोसँग आफ्नो कुरा भन्नसक्ने पर्‍यो । बिपी कोइराला भन्ने गर्थे क्यारे, योजना आयोगमा गरिब किसानको फोटो राख्नु । गरिब किसानको तस्बिर राख्नु राम्रै कुरा हो । तर गरिब किसान त मस्तिष्कमा राख्नुपर्ने हो । फोटै राख्ने हो भने सधैंभरिलाई डा. हर्क गुरुङकै फोटो झुण्ड्याइदिए हुन्छ । किनभने नेपालमा गुरुङको सिद्धान्त नै सीमा हो । त्योबाहेक अरु केही योजना आयोगबाट आजको मितिसम्म आएको छैन ।

===

डा. गुरुङको काँधमा बन्दुक

एउटा मोहरा

राजनीतिकर्मी र योजनाविदपछि उहाँको तेस्रो भूमिका थियो, भूराजनीतिक मोहराको । यसमा उहाँ भूराजनीतिक कूटनीतिको मोहराको रूपमा प्रयोग हुनुभयो ।

सन् १९८० को दशकमा जनसांख्यिक रणनीतिको ठूलो महत्व थियो । खासगरी दक्षिण एसियामा इन्दिरा गान्धीलाई निक्सनले चाहिँ नरुचाउने । इन्दिरा गान्धीले चाहिँ सिक्किमलाई भारतमा मिलाएको अवस्था । अफगानिस्तानमा त्यसपछि सन् १९८० मा रुस आएर बसेको थियो । यो क्षेत्रमा अलिकति पनि शंकास्पद गतिविधि हुन नदिने हो भने जनसंख्यामा नियन्त्रण हुनुपर्छ भन्ने मान्यता स्थापित थियो ।

डा. हर्क गुरुङले मलाई पढ्न च्यालेन्ज गर्नुभएको थियो । रिपोर्ट पढ्ने होइन, पढ्ने भनेको कन्टेस्टच्युयाल टेक्स्ट पढ्ने हो भनेर । त्यसपछि मैले जर्नल र किताबहरू हेरें । त्यतिबेला एकदम ठूलो आतंक थियो डेमोग्राफिक ट्रान्सफरबारे, त्यसबारे पढें । उहाँ पछि पढ्न जानुभएको हवाईमा । हवाई विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय बर्कलेमा यसबारे त ठूलो कामै भएको रहेछ ।

डेमोग्राफिक ट्रान्सफर गरेर कसरी अमेरिकी हित सुरक्षण गर्ने भन्ने विषयले तहल्का मच्चाइरहेको बेला थियो । इजरायल, इन्डोनिसिया, अर्जेन्टिनामा यसको एकदम बौद्धिक आतंक छाएको रहेछ ।

डेमोग्राफिक ट्रान्सफरबाट मोहित

हवाईमा जाँदा उहाँ त एकदम विद्वान थिए । नयाँ नयाँ कुरा सिक्न चाहने । नयाँ देख्नासाथ एकदम उत्साहित हुने । उहाँ पनि डेमोग्राफिक ट्रान्सफरबाट मोहित हुनुभयो । र अन्ततः रणनीतिक भूराजनीतिको मोहराको रूपमा उहाँ प्रयोग हुनुभयो । त्यो उहाँको असफलता हो ।

सन् १९९० पछि उहाँ विज्ञको रूपमा देखा पर्नुहुन्छ, अनुसन्धानकर्ताको रूपमा देखा पर्नुहुन्छ । त्यसपछि उहाँसँग मेरो सामाजिक रूपमा कहिलेकाहीँ भेट भइराख्थ्यो । सन् १९९० पछि ‘डासाब पनि एनजिओ व्यापारमा लाग्नु भयो’ भने जिस्क्याएँ, उहाँ रिसाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कहाँको एनजिओ व्यापार ? मेरो त सक्कली व्यापार हो सक्कली, कर तिर्‍याछु ।’

त्यसपछि अनुसन्धानमा लाग्नुभयो, गहिरो अनुसन्धानमा । त्यसको कुनै पोलिसी इम्पिलीकेसनतिर त्यति चिन्ता नगर्ने । त्यसको नीतिको असर कति हुन्छ धेरै चिन्ता नगर्ने । उहाँले शुद्ध ज्ञानको खोजी थाल्नु भयो । त्यसपछि उहाँको रूपै फेरिन्छ । कम्प्लिटलि डिफेरेन्ट मानिस !

भाषाचाहिँ त त्यस्तै । अलिकति पनि बेकुफीजस्तो देखाइयो भने कुरै गर्न नचाहने । ‘यसले त कुरै बुझ्दैन । यससँग कुरा गरेर के गर्ने ।’ भन्ठान्ने ।

तपाईं एकदम आफ्नो कुरामा प्रतिबद्ध (डिटरमिन) हुनुहुन्छ भने प्रतिबद्ध भा’को मान्छेसँग के तर्क गर्ने ? अर्थै छैन । घोप्ट्याइएको भाँडामा के पानी राख्ने ? ठाडै नै भन्ने । उहाँको कुरा पोलिटिलकल करेटनेसतिर नलाग्ने ।

समावेशिता र बदलिँदो व्यक्तित्व

त्यसपछि उहाँको रूप बदलिन्छ । उहाँ बदलिएको रूपमा जब देखा पर्नुहुन्छ, उहाँको विद्वतामा निखार आउँछ । यो माओवादी जनयुद्धको कारणचाहिँ के होला ? यसका समाधानको बाटा केके होलान् ? नेपालको जनसंख्याको अवस्था कस्तो हो ? प्रतिव्यक्ति स्रोतका उपलब्धताहरू केके हुन् ? क्षेत्रीय योजना विफल हुनुका कारण केके हुन् ? उहाँ ती सबै प्रश्नतिर जान थाल्नुभयो । अन्तमा गएर सन् २००० पछि उहाँ समाज र संस्कृति पनि हेर्न थाल्नुहुन्छ । उहाँमा परिपक्वता आउँछ, प्राज्ञ बनेर आउँछ ।

उहाँ लेखाइमा पनि त्यत्तिकै बलियो । तथ्यांक केलाउन सक्ने क्षमता त्यस्तै । अन्तमा उहाँ समावेशिताको सिद्धान्तसम्म पुग्नुहुन्छ । मैले भेट्दासम्म लगभग संघीयतालाई स्वीकार गर्नुभएन ।

सन् २००५ सुरुतिर व्यक्तिगत रूपमा र सन् २००६ तिर सार्वजनिक रूपमा भेट हुँदा उहाँले संघीयतालाई अन्तिमकालसम्म स्वीकार गर्न सक्नुभएको थिएन । त्यसको दोष उहाँलाई दिनु बेकार छ ।

अघि नै मैले भनें, विद्वानहरूले आफ्नो विषय जानेका हुन्छन् । त्योभन्दा बाहिर जानु जोखिमपूर्ण हुन्छ । विद्वानहरू आफ्नो क्षेत्रमा बाहेक अरुको क्षेत्रमा जोखिम मोल्न चाहँदैनन । पक्का कुरामात्र गर्न चाहन्छन् । पक्का कुरो, नेपालमा त कहिले पनि संघीयता भएकै छैन । यसको अर्थ संघीयताको पक्का आधार छैन ।

संघीयता त पूरै जोखिमपूर्ण अनुमानको काम भयो । आँटेर गर्ने काम भयो । त्यो भनेको राजनीतिको क्षेत्र हो । त्यतिबेला उहाँले राजनीति छोडेको पनि २५ वर्ष नाघिसकेको थियो ।

उहाँ समावेशिताप्रति एकदम मोहित भइसक्नुभएको थियो । सन् २००५ तिरै हो क्यारे, खासगरी मधेसको कुरा गर्दाखेरी उहाँ भन्नुहुन्थ्यो, ‘के बढ्त कुरा गर्छ यो सिके जहिले पनि । हारेको मान्छे पनि यति लामो कुरा गर्नुहुन्छ ? तिमीहरूको जे हालत छ, त्यो त युद्धमा हारेपछिको यो हालत भयो ।’

मैले भनें, ‘होइन डाक्टरसाब कहाँ कुन युद्धमा हारेको भन्या ?’

उहाँले भन्नुभयो, ‘हारेको त हो नि, नारै लागेको थियोः तिमीहरूको जनकपुर क्षेत्रमा, गोरखालीलाई चाहिँ सिन्धुली कटाउँछौं भनेर । कटाउन त कटाए अंगे्रजहरूले, गोरखालीले नै फिर्ता बोलाइदिए । हारेकोसँग जस्तो व्यवहार हुन्छ, गोरखालीहरूले त्यस्तै व्यवहार गरे । योभन्दा राम्रो व्यवहार गर्ने हो भने गोरखालीहरूभन्दा राम्रो बना, त्यसै राम्रो व्यवहार गरिहाल्छन् गोरखालीहरूले ।’

तराईबासी चाहिँ भन्ने, तर गोरखाली भन्न अप्ठेरो नमान्ने । हुन त उहाँ लमजुङको पनि भएर होला, लमजुङ गोरखाछेउछाउ भएकोले गोरखाली भन्न उहाँलाई गा¥हो भएन । तर समावेशिताको नाममा एकदमै प्यासनेट ।

सम्झने–बिर्सने

राजनीतिकर्मीको रूपमा उहाँलाई सम्झने हो भने मिठा कुरा सम्झनामा आउँदैनन । प्रशासकको रूपमा उहाँलाई सम्झने हो भने मिठा कुरा सम्झनामा आउँदैन ।

योजनाविदको रूपमा उहाँको सिद्धान्तको कुरा पनि आउँछ, सिद्धान्त त शाश्वत हो नि । योजनाविदको रूपमा उहाँको योजना यो परिस्थितिमा योजना सफल भएन । तर पनि योजनाविदको रूपमा उहाँको बौद्धिक योगदान शाश्वत छ । त्यसैले योजनाविदको रूपमा उहाँलाई सम्झनुपर्ने छ ।

जेजस्तो भए पनि भौतिक भूगोल पढेको मान्छे, जनसंख्या भूगोलमा गएर अल्झिएर बसाइँसराइ प्रतिवेदनबारे उहाँलाई सम्झनु उपयुक्त छैन ।

त्यसैले मैले साथीहरूलाई भन्छु, अब त्यसलाई गुरुङ प्रतिवेदन नभन, बिचरा उहाँको काँधमा बन्दुक हालेर चलाउने अरु नै रहेछन्, त्यो बसाइँसराइ प्रतिवेदन हो खासमा । त्यसैले त्यो तीता कुरा पनि सम्झन लायक होइन ।

उहाँको सम्झनालायक सबभन्दा अन्तिम हो, समावेशिताको कुरा । त्यसपछि उहाँको संरक्षणको सम्झना गर्न लायक छ । त्यो के आधारमा भने, अब आउँदो दिनमा संरक्षणको महत्व बढदै जानेछ ।

त्यसैले योजना, संरक्षण र समावेशिताः यी तीन कुरामा हामी डा. हर्क गुरुङलाई सम्झ्यौं भने त्योचाहिँ एकदम उपयुक्त हुनेछ । उहाँका पाठहरू हाम्रो भविष्यका लागि उपयोगी हुनेछन् ।

उहाँको पुरा भिडीयो यहाँ हेर्न सक्नु हुन्छ ।

प्रस्तुतिः रुख गुरुङ, सम्पादन: राजेन्द्र महर्जन

(जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र, प्राज्ञिक परिषदद्वारा आयोजित डा. हर्क गुरुङको छैठौ स्मृति सभा (२३ सेप्टेम्बर २०१४)मा व्यक्त विचारको सम्पादित अंश)

फोटो सिकेलाल : Onlinekhabar

साभार:
हर्क गुरुङसँग रोचक र घोचक भेट –  http://bit.ly/152I3I8
गुरुङ डक्ट्राइनमै गएर ठोक्किने  – http://bit.ly/17MIGGW
डा. गुरुङको काँधमा बन्दुक – http://bit.ly/152IFO4

Advertisements

One response

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: