सुसिलाहरुको कक्षा, जहाँ दृष्टिकोणलाई मलजल गरिन्छ

नारायणी देवकोटा

narayani_devkotaदश वर्ष अगाडी देखी एउटा ठूलो सपना थियो, कुनै दिन किर्तिपुर गएर मास्टर्स पढ्ने । कुन विषयमा भन्ने थिएन । कुनै प्रतिशतको आशा थिएन । बस, किर्तिपुर गएर पढ्ने एउटा प्यारो सपना थियो । काठमाण्डौको विधार्थी राजनीतिमा रत्तिँदै गए पछि मलाई आफुले समाजशास्त्र पढ्नुपर्ने रहेछ भन्ने महशुस भयो । त्यस महशुसको कारण मेरा साथीहरु थिए । जो समाजशास्त्र पढेका थिए, उनीहरुको बैचारिक जग बलियो थियो । जो अन्य विषयबाट आएका थियौँ हाम्रो बैचारिक जग नै थिएन । बेला बेलामा मेरा गुरु घनश्याम भूषालले ‘तपाईले त समाजशास्त्र पढ्नु पर्ने हो’ भन्ने बाक्यले पनि मलाई मास्टर्समा समाजशास्त्र पढ्न धकेलिरहेको थियो ।

६९ सालमा मात्रै म सपनाहरुलाई पछ्याउँदै किर्तिपुर क्याम्पस जाने मौका पाए । र, ६९ सालको असोजमा सुरुभएको कक्षामा बसेँ । कक्षामा जान अगाडी चैतन्य मिश्र र सुरेश ढकाल सरको लेखनी खुब मन पथ्र्यो । मेरो लागि चैतन्य सर एउटा आदर्श हुनुहुन्छ । पछिल्ला ५ वर्ष देखि । उहाका पत्रपत्रिकामा छापिएका लेखहरु महिनौसम्म मेरा महत्वपूर्ण किताबहरुको साथमा हुन्छन् । कृष्ण भट्टचनले पढाउँछन् भन्ने र उनको पढाईका चुट्किलाहरुको विषयमा पनि बहुत सुनिन्थ्यो चिया गफहरुमा ।

तर, साच्चैको कृष्ण भट्टचनलाई मैले भेटेकी थिईन । कृष्ण भट्टचनले, ‘गाजलु ति ठूला ठूला आखा’ बोलको गित जनजातिले लेखेको भए ‘गाजलु ति चिम्सा चिम्सा आखा’ भनेर लेख्थे भन्छन् रे, घरमा सर्प र बाहुन एकसाथ पसे पहिला बाहुनलाई धपाउनु अनि सर्पलाई भन्छन् रे, एकपटक मण्डला बुक्सबाट नेपालमा दश प्रति मात्र आएको कुनै किताब भट्टचनले सबै उठाएछन् रे, किन सबै किताब किन्नुभएको भनेर कसैले सोध्दा बाहुनले पढ्लान् भनेर किनेको भने रे, एकल जातिए पहिचान हुनै पर्ने भनेर पढाउँछन् रे, कक्षामा नस्लवादी विचारको बढी ब्याख्या गर्छन् रे । भट्टचन सरको बारेमा मैले धेरै नै हल्लाहरु सुनेकि थिए, हल्लैहल्लाको काठमाण्डौमा ।

समाजशास्त्र विभागको विषयमा जति सकारात्मक सोचाई छ समाजमा त्यतिनै नकारात्मक सोचाई पनि छ । पास गर्न अरु विषय भन्दा सजिलो, महिला त्यो पनि विवाहित महिलाहरुले पढ्ने विषय आदी इत्यादी । समाजशास्त्र मानवशास्त्र विभागकै प्राध्यापकहरुले पनि विद्यार्थीहरुलाई सुसिला जी भन्छन् भन्ने कुरा प्राध्यापक सुरेश ढकालले उल्लेख गर्नु भएको थियो चार पाँच वर्ष अगाडी । सुरेश ढकाल सरको लेख कान्तिपुरको कोसेलीमा छापिने बेलैमा हुनु पर्छ, मलाई समाजशास्त्र पढ्न जाने भुत सवार भएको ।

भट्टचन सरको पहिलो कक्षामा गएपछि थाहा भयो समाजशास्त्रको नाम अर्को पनि रहेछ सुसुलोजी । भट्टचन सरका अनुसार पिसाब गरे जस्तै किस्ता किस्तामा पास गरे हुने भएको कारण यसलाई सुसुलोजी भनेका अरे । एक वर्ष पढे पछि मलाई लाग्यो अत्यन्तै गहिरा विषयहरु, त्यो पनि संसारभरका लेखकले लेखेकै भाषा अंग्रेजीमा पढ्नु पर्ने, नेपाली किताबको कन्तविजोक र जति लेखेपनि कम नम्बर आउने कारणले समाजशास्त्रलाई सुसुलोजी भनेका होलान् ।

हरेक हप्ता एक जना सरको एक दिन दुई घण्टाको कक्षा हुन्थ्यो । आईतवारको दिन चैतन्य सरले माक्र्सिस्ट दृष्टिकोण पढाउनु हुन्थ्योे । उहाकै विचार हो कि जसरी । धेरै विधार्थी चैतन्यसरले पढाएको कुरा चैतन्य सरकै दृष्टिकोणको रुपमा बुझ्थे । त्यहि आधारमा कक्षामा बहस हुन्थ्यो । कम्युनिष्ट पार्टीमा आस्था राख्ने विद्यार्थी सरलाई (खासमा सरलाई होईन सरले पढाएको विषयलाई) समर्थन गर्थे, अरु त्यसको खण्डन गर्थे । चैतन्य सरले पढाएको दिन हामीहरु जताततै वर्ग रहेको देख्थ्यौँ । समाज आदी काल देखि आर्थिक आधारमा विभाजन भएको देख्थ्यौँ । समाजमा भएको असमानताको कारण आर्थिक मात्रै हो भन्ने हामीलाई लाग्थ्यो ।

दोस्रो दिन डा. युवराज लुईटेलले संरचनात्मक प्रकार्यवादी दृष्टिकोण पढाउनु हुन्थ्यो आफ्नै विचार झै । कक्षा सकिए पछि कुनै विधार्थीहरुले युवराज सरलाई पुरातनवादी मान्थे । कोहि विधार्थी युवराज सर सोहै्र आना सहि भएको तर्क गर्थे, उनिहरु इमाइल दुर्खाइम (संरचनात्मक प्रकार्यवादी समाजशास्त्री)लाई आफ्नै हजुरबा हुन् जस्तो गर्थे । कक्षामा बहस हुन्थ्यो मानिसलाई कसरी संरचनाले बाँधेको हुन्छ भन्ने बारेमा । डा. लुईटेलको कक्षाबाट निस्कँदै गर्दा लाग्थ्यो मानिसका हरेक क्रियाकलाप संरचनाले पो निर्धारण गर्छन् त । हामी दुर्खाइमको ब्याख्यामा आफ्नो जिवनलाई दाँजेर हेथ्यौँ । दुर्खाइमको कुरा सहि लाग्थ्यो ।

तेस्रो दिन कृष्ण भट्टचनले पढाउनु हुन्थ्यो कर्ता प्रधान दृष्टिकोण । कर्ताप्रधान दृष्टिकोणले चैतन्य सरले पढाउने आर्थिक कुराले मानिसको हैसियत निर्धारण गर्ने माक्र्सवादी विचारको खण्डन गथ्र्याे र साथ साथै युवराज सरको सामाजिक संरचनाले मानिसको हैसियत निर्धारण गर्ने कुराको पनि खण्डन गथ्र्यो । बरु, मानिसले नै आफ्नो हैसियत निर्धारण गर्छ । उसका हरेक दिनका कामहरु, उसको बोलाई, कपडा लगाई, हिडाइको तरिकाले आफ्नो हैसियत निर्धारण गर्छ भन्ने पढाउनु हुन्थ्यो । कक्षामा बहस हुन्थ्यो, कसरी एउटा रिसाह मानिसले समाजमा सम्मान जनक पद पाउन सक्दैन । कसरी एउटा तार्किक मानिसले समाजको नेतृत्व गर्छ । कसरी एउटा मानिस परिवर्तनको सम्वाहक बन्छ । भट्टचन सरको कक्षामा हामी सबै व्यक्तिवादी हुन्थ्याँै । भट्टचन सरको कक्षा पछाडी केहि साथीहरु भट्टचनसरलाई कस्तो व्यक्तिवादी मान्छे है भनेर कमेन्ट गथ्र्यौँ । केहि साथीहरु समाजको गति निर्धारण गर्ने व्यक्ति नै हो भन्थे । जे होस् धेरै जसो दिन भट्टचन सरको कक्षाबाट निस्कँदा हामी व्यक्तिवादी भएर निस्कन्थ्याँै ।

चौथो दिन जात व्यवस्थाको विषयमा पढ्नु पथ्र्यो । कहिले जात ब्यवस्था भित्रको वर्णाश्रम ब्यवस्था ठिकै थियो, बैज्ञानिक नै थियो भन्ने लाग्थ्यो । कहिले जात व्यवस्था एकदम अनावस्यक थियो भन्ने लाग्थ्यो, अवैज्ञानिक थियो भन्ने लाग्थ्यो ।

पाचौँ दिन जनजातीको विषयमा पढ्नु पथ्र्यो । कहिले जातिय मुद्धा एकदमै जायज छन्, आत्मनिर्णयको अधिकार, जातिय पहिचानको आन्दोलन, समानुपातिक प्रतिनिधित्व जरुरी छन् भन्ने लाग्थ्यो । त्यहि कक्षामा कहिले जातिय आन्दोलन ठिक होईन, राज्य एउटा नभईनहुने कुरा हो, समानुपातिक प्रतिनिधित्वले नकरात्मक विभेद गर्छ, भन्ने लाग्थ्यो ।

छैटौँ दिन नारीवाद पढ्यो, कहिले महिला आर्थिक कारणले गर्दा पछाडी परेका हुन् भन्ने लाग्थ्यो । कहिले पुरुषहरुले महिलालाई विभिन्न धर्म र संस्कारको विकास गरि घर भित्र आफ्नो वासनाको पूर्ति गर्ने साधन बनाएका हुन् भन्ने लाग्थ्यो । कहिले महिला आफै पनि त आनन्दले छोराछोरी र बुढा बुढीको स्याहार गर्ने, धेरै श्रम गर्न नपर्ने काम गर्न थालेकाले पछाडी परेका हुन् भन्ने लाग्थ्यो ।

यसरी पढिरहँदा पहिलो महिना म भएंकर आत्तिएँ । एउटा सरले एउटा कुरा गर्छन् । अर्को सरले अर्को कुरा दुरुस्तै पारेर गर्छन् । तेस्रो दिन झन अर्को सरले अर्कै कुरा दुरुस्तै पारेर पढाउँछन् । अति नै आत्तिए पछि मैले मेरा पहिल्यैबाट समाजशास्त्र पढेका साथीहरुलाई म कक्षामा अलमलिएको बताँए । एकजना साथीले धैर्य गर्नुको विकल्प नभएको बताईन । छ महिना पछि जब समाजशास्त्रका मुख्य विचारधाराहरुको पढाई सकियो तब मलाई समाजशास्त्रको दुनियामा घाम लागेको जस्तो लाग्यो ।

समाजलाई व्याख्या गर्ने फरक फरक विचारधाराहरु ठडिएका छन् । कुनै स्वयम्भु जस्ता, कुनै पार्टी अफिस जस्ता त कुनै संविधान सभा जस्ता । मानिसहरुको लाम छ त्यस्तै, पशुपतिको भिड जस्तो, पार्टी कार्यलय वा नेताको निवास जस्तो वा सिंहदरवार जस्तो । आफ्ना आफ्नै विचारका पर्वतहरु छन् । त्यत्तिकै सुन्दर, त्यत्तिकै आत्मीय । इलामको मानिसलाई इलामबजार मन परे जस्तो । कालिकोटको मान्छेलाई मान्माबजार मन परे जस्तो । कसैलाई इमाइल दुर्खाइम आफ्नै हजुरवा जस्तो लाग्छ, कसैलाई कार्लमाक्र्स वा कसैलाई जी एच मिड ।

मावन स्तरिकरणको फरक विचारधाराहरु पनि हामी आफ्नो विचारको निकटता अनुसारका ब्याख्याहरुलाई ग्रहण गर्छौ । जातिय आन्दोलनमा लागेका साथीहरुलाई जातिय भेदभाव समाजको सबै भन्दा ठूलो कलंक हो भन्ने लाग्छ । उनीहरुको विचारलाई बल्लियो बनाउन संसारका विद्धानहरुका विचारहरु उपलब्ध छन् । कति ग्रहण गर्ने र कहाँसम्मको यात्रा तय गर्ने आफ्नो खुसीको कुरा ।

वर्गिय विचारधारालाई आत्मसाथ गर्ने विद्यार्थीलाई समाजको वर्गिकरण आर्थिक आधारमा नै भएको हो भन्ने लाग्छ । त्यसलाई फरक फरक कोणबाट व्याख्या गर्ने कयौँ माक्र्सवादी व्याख्याता छन् । कुन विद्यार्थीले कति पढ्छ, र कस्को निकट आफुलाई उभ्याउँछ उसलाई छुट छ । उ समुद्रको निकट छ पानी कति झिक्ने निर्णय गर्न उ स्वतन्त्र छ ।

पहिलो वर्षको कक्षा सकिँदै गर्दा हामीहरु वैचारीक रुपमा विभाजित छौँ, हाम्रा दैनिक जिवनका अनुभवहरुले र हाम्रो भविश्यको गन्तब्यले हामीलाई फरक फरक कित्तामा उभ्याएको छ । एमएको पढाई सके पछि माक्र्सवादमा झुकाव भएको कुनै साथी उग्र माक्र्सवादी भएर निस्कने छ । जसले भट्टचन सरलाई गालि गर्ने छ, उग्र जातिवादी र व्यक्तिवादी आरोप लगाउनेछ । युवराज सरलाई पुरातनपन्थी यथास्थीतिवादी देख्ने छ । उसको विचारलाई पाईन लगाउन लेनिन देखी वालेस्टाईन र पाउलान्तास सम्मका विचारहरु तयार छन् । माक्र्सवादमा झुकाव भएको अर्को सार्थीले कार्लमाक्र्सको पनि खण्डन गर्ने भएर निस्कनेछ । तर, कार्लमाक्र्सका आधारभूत मान्यताहरुबाट टाढा जान सक्नेछैन । उसको विचारलाई पाईन लगाउन फ्रेंकफर्ट स्कुलले सहयोग गर्नेछ । रोजा लग्जेम्वर्ग देखि हावर्मास सम्मका विचारमा उ डुब्नेछ ।

पन्द्र सय विद्यार्थी भर्ना भएको कक्षामा थोरै विद्यार्थीले मात्रै सबै विषयमा परिक्षा दिएका छन् । कक्षा टप गर्ने र प्रथम डिभिजन ल्याउने विद्यार्थीले कुनै एक विचारधारासँग आफुलाई जोडेर हेर्ने छैन । तत्काल समाजको कुनै प्रकारको आन्दोलनमा आफुलाई उभ्याउने पनि छैन भन्ने मलाई लागेको छ । मैले यसो किन भनेको भने, उसले सबै विचारधारालाई समान रुपमा पढेको हुन्छ । झुकाव हुनु अर्को कुरा हो, तत्काल उसलाई राम्रो प्रतिशत भएको एउटा सर्टिफिकेटको जरुरी हुनेछ । र लगत्तै एउटा राम्रो कामको ।

जुन विद्यार्थीले आफुलाई एउटा विचारमा रंगाएका छन्, उनीहरु आफ्ना विचारहरुलाई मलजल गर्ने धेरै किताब पढ्न जनवरीको जाडोमा पनि खाना नखाई लाईव्रेरीमा बसेर पढे । पन्द्र सय विद्यार्थीमा पाँच जना आफ्नो समुदाय र झुकाव अनुसारको दृष्टिकोणलाई तिखारेर समाजमा हस्तक्षेपकारी भएर निस्कनेछन् । परिक्षा दिनु नदिनु पास हुनु नहुनु उनीहरुको चासोको विषय होईन ।

समाजशास्त्रमा भर्ना भएको एक वर्ष पछाडी मलाई लागिरहेको छ, प्राध्यापकहरु कक्षामा आफ्नो विचार पढाउँदा रहेनछन् । चाहे चैतन्य मिश्र हुन् चाहे कृष्ण भट्टचन । विद्यार्थीहरुमा नचाहिँदो भ्रम हुँदो रहेछ फलानो सरले यो पढायो तीलाना सरले त्यो पढायो भन्ने । प्राध्यापकहरुको कोशिष हुँदो रहेछ आफुले पढाएको दृष्टिकोण आफ्नै विचार झै मनै देखि पढाउने । तर, ती विचार उनिहरुका होईनन् अरु नै कसैका हुन् भन्ने कुरा धेरै विद्यार्थीले बुझ्नै भ्याउँदैनन् । प्राध्यापकहरु त माध्यम मात्रै हुँदा रहेछन् विद्यार्थीलाई विचारसम्म पु¥याउने । एउटा बटुवालाई पारीको गाउँसम्म पुराउने पुल जस्तै । उनीहरुको झुकाव कुनै दृष्टिकोणमा हुनु अर्कै कुरा हो ।

आधिकारिक लिंक
http://narayaniwave.blogspot.com/2014/03/blog-post.html#more

(उनी त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका विद्यार्थी हुन्  )

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: