प्रेम एउटा कोलाज

suresh_dhakal

Suresh Dhakal

आज मेरो गाई हेर्ने पालो
राधा पनि जान्छ्यौ कि गोठालो ?

कुनै आस्तिक प्रौढले सुनेजस्तो रहेन, यो भजन मेरा लागि । बैँसालु उत्सुकताले भर्खर-भर्खर प्रवेश गर्दै गर्दा सुनेको हुँ, पशुपति किराँतेश्वरको डाँडामा । मलाई त रुमानी प्रेमगीत लाग्यो त्यो पनि । डेटिङका लागि कुनै अमूक स्थानमा भेट्नका लागि समेत पनि एसएमएस गर्नुपर्ने आजका घुसघुसे प्रेमीहरूका लागि त ठाडो चुनौती थियो, त्यो । अव्यक्त प्रेमीका लागि ठूलै प्रेरणा । त्यस प्रेमगीतले गाई गोठालो जाँदाका मेरा किशोर रहस्यलाई उत्खनन गरिरहेजस्तो लाग्थ्यो । त्यो म बाँचेको समाजको प्रेमशास्त्र थियो, सायद ।

प्रेमको समाजशास्त्र

नयाँ पत्रिकाबाट प्रेमका बारेमा लेखिदिने अनुरोध कल रिसिभ गरेपछि झट्ट दिमागमा आएको पहिलो सन्दर्भ यसै नयाँ पत्रिकामा केही पहिले छापिएको शीर्षक थियो : यो छिपछिपे प्रेमको युग हो । (२००८—०७—१४, सोमबार) । मुलुकका अगुवा समाजशास्त्री चैतन्य मिश्रको अवलोकन थियो त्यो । अहिले प्रेमबारे लेख्नेहरूका लागि ‘पन्च लाइन’ ।

उनको हेराइमा ‘बजारको दबाब र सामाजिक संरचनाले प्रेमलाई गाढा बन्न दिँदैन । फास्टफुड प्रेम भनेको यही हो । यो कतिखेर सकिन्छ, थाहा हुँदैन । त्यसैले बिहान-बेलुकी पे्रमी-प्रेमिकाले भेट्नुपर्ने, एक-अर्काको तारिफ गरिरहनुपर्ने, उपहार दिइरहनुपर्ने भएको हो ।’

उफ ! प्रेमलाई जोगाइराख्न पनि यत्रो टन्टा । यो झमेला ! उनका अनुसार अहिलेको स्वतन्त्र पुस्ता प्रेममा पनि स्वतन्त्रता चाहन्छ । अर्थात् प्रेमको प्रकार समाजको अवस्थितिले निर्धारण गर्छ । हजुर, प्रेम देशकालअनुसारको हुन्छ, समय, स्थानसापेक्ष हुन्छ । प्रेमको रहर त शाश्वत होला, तर शैली र व्यवहार भने फरक हुन्छ ।

तर, उपभोक्तावादी पुँजीवादी चरित्र काठमाडौं, ठूला सहर हुँदै र सहरको सिको गर्दै गाउँ-गाउँ पसिरहेछ । गाउँका तरुनी-तन्नेरी सहरियाजस्तै बनेका छन् । अझ यसो भनौँ, गाउँकाले र सहरकाले देख्ने, सुन्ने, सिक्ने र भोग्ने कुरा उस्तै-उस्तै भइसके । समय र स्थानको भेदविहीन उत्तरआधुनिक चरित्र निर्माण भएको छ । सहर गाउँ पसेको छ । प्रेमको सहरिया शैली पनि गाउँ पसेको छ । सहर र गाउँको सीमा पातलिँदै गएको छ भन्ने थाहा पाउन तरुनी-तन्नेरीको व्यवहार र रहन-सहनको अध्ययनबाट पनि सकिन्छ । गाउँ-घरतिर जाँदा, बूढापाका त भन्ने गर्छन्, ‘गाउँ गाउँजस्तो कहाँ रह्यो र ? सब छाडा भइसके ।’

पुँजीवाद प्रेम

केही वर्षपहिले समाजशास्त्रकी एक छात्राले धरानमा भएका पारपाचुकेको अध्ययन गरेर शोधपत्र तयार पारेकी थिइन् । उनका अनुसार पारपाचुके गर्नेको संख्या परम्परागत विवाह गर्नेहरूभन्दा प्रेमविवाह गरेका जोडीमा बढी रहेछ । यी समाजशास्त्रकी विद्यार्थीको शोधले चरित्र-चित्रण गरेको धराने प्रेम नै समाजशास्त्रका प्राध्यापकले भनेजस्तै छिपछिपे भएर हो कि ! वा व्यक्ति आफ्ना बारेको सम्पूर्ण निर्णयकर्ता आफैँ हुन चाहेर हो ! ऊ प्रेम गर्ने, विवाह गर्ने, सँगै बस्ने वा छुट्टनिे भन्ने कुराको निर्णय गर्न सक्षम छ । त्यस शैलीको बाँच्ने अधिकारको उपभोग गर्न चाहन्छ । ऊ अरूभन्दा यस युगसँग अलिक निकट छ । पुँजीवादले निर्माण गरेको व्यक्तिचरित्र पनि हो, त्यो ।

पँुजीवाद सांस्कृतिक रूपमा उपभोगवादी संस्कृतिको युग हो । उपभोग वस्तुको मात्र होइन भाषा, व्यवहार र शैलीको पनि गरिन्छ । प्रेम गर्नु पनि उपभोग्य शैली र व्यवहार बनेको छ, यतिवेला । त्यस्तै, प्रेम गर्नेहरूका लागि पुँजीवादले सिमाना पनि भत्काइदिएको छ ः परम्परा, जात, धर्म, उमेर, पेसा र राष्ट्रसमेतको । व्यक्ति स्वतन्त्र, स्वच्छन्द र सार्वभौम बनेको छ । दीपेन्द्रले देवयानीको प्रेमका खातिर वंशविनाश गरे भन्ने कथामा सत्यता कति छ त्यो अर्को कुरा, तर व्यक्ति र प्रेमको सार्वभौमिकताको अब्बल उदाहरण हो त्यो । पुँजीवादले निर्माण गर्ने व्यक्तिको सर्वोच्चता र सार्वभौमिकताको सन्दर्भ बुझ्नका लागि कालान्तरसम्म उपयोग गर्न सकिने प्रतिनिधि उदाहरण हो त्यो ।

परिभाषामा प्रेम

सन् २००२ मा युद्धग्रस्त क्षेत्रमा सोह्र साँझहरू बिताएर र्फकंदै गर्दा हाम्रा चालक राजुले बन्दीपुरमा गाडी बिसाए, चिया खाने बहानामा । यात्राका हामी तीनभाइ थकित थियौँ, शारीरिक र मानसिक रूपमा पनि । सायद सबैभन्दा बढी थकित खगेन्द्र दाइ । तर, उहाँले चियाको पहिलो स्वादसँगै चियाले प्रदान गर्ने सरदर स्फूर्तिभन्दा बढी नै फुर्तिएर त्यतै हँुदो तनहुँका डाँडा-पाखामा उप्र“mदै, भाग्दै प्रेम गरेका रंगीन स्मरण स्वादिलो गरी सुनाउने मौका चुक्न दिनुभएन । प्रेमीको सम्झनाले मात्र पनि मानिसमा त्यत्रो फुर्ती सञ्चार गर्दोरहेछ । मेरा लागि त्यो क्षण चामत्कारिक थियो ।

सन् १९९६ को हिउँद हो, सायद । म अध्ययनका सिलसिलामा नर्वेमा थिएँ । लामो बिछोडपछि भेटिएका मेरा अग्रज मित्र लोक सुब्बाले सप्ताहान्तमा मलाई लङ ड्राइभ लिएर गइरहनुभएको थियो । हिउँले छपक्कै ढाकेको त्यस भू-भागमा हिउँबाहेकको पृथ्वीको सतह कतै देखिँदैनथ्यो । बाक्लो हिउँमा नागबेली लयमा गाडी कुदाउँदै सुनाउनुभए’थ्यो, ‘सुरेशजी ! मानिसले अरूलाई त झुक्याउँछन् नै, तर आफूले आफूलाई झुक्याउनुको मज्जा नै अर्को हुँदोरहेछ ।’

के भयो लोकदाइ ?’

मैले पनि लभ गरँ नि !’

हामी दुवै मज्जाले हाँस्याँ

शालीन नर्वेली महिला च्यास्टी मोलरप सुब्बासँग घरजम गरेर उतै बसेका लोक सुब्बा नेपाली राजनीतिका भरोसालाग्दा व्यक्तित्व थिए । नर्वेको आकर्षणले भन्दा उनी बाँचेको विशेषतः तत्कालीन राजनीतिक परिस्थितिले घचेटेर त्यहाँ पुगेका उनी अन्ततोगत्वा उतै स्थापित भए । कारण थियो, प्रेम । उनका लागि आफैँले आफैँलाई झुक्याउने खेल ।

प्रेम ! आखिर यो कस्तो पजल हो ? वा के हो प्रेम ? भ्रम ? समर्पण ? मलाई लाग्छ, प्रेमको सर्वव्यापकता र सर्वोपरि चरित्रलाई परिभाषामा बाँध्नै सकिँदैन । परिभाषित गर्नै सकिँदैन । परिभाषा निर्माण गरेर प्रेम गर्ने प्रेमी होइनन् । तपाइर्ं कसलाई प्रेम गर्नुहुन्छ, त्यसमा तपाइर्ंको केही नियन्त्रण होला, तर तपाइर्ंलाई कसले प्रेम गर्छ, यो तपाइर्ंको वशको कुरा होइन । के तपाइंलाई तपाइर्ंको अनुमतिविना नै प्रेम गर्नेहरूप्रति कुनै गुनासो छ ?

हुन त भनिन्छ, प्रेम गरिने होइन, हुने कुरा हो । त्यो अन्जानमा, बेहोसीमा र कहिलेकाहीँ त भूलवश पनि भइदिन्छ । फ्रेडरिक नित्चे, जर्मन दार्शनिक भन्छन्, ‘एकजनासँग मात्र प्रेम गर्नुर् बर्बरता हो । किनकि, त्यो बाँकी अरू सबैको मूल्यमा गर्नुपर्ने हुन्छ । ईश्वरसँगको प्रेम पनि त्यस्तै हो ।

प्रेमका बारेमा कति श्लोक, गीत, कविता लेखिए, कति काव्य, महाकाव्य लेखिए, कति प्रेमगाथा, कथा र उपन्यास लेखिए, के लेखा-जोखा र ! तर, के तिनले प्रेमलाई परिभाषित गर्नसके होलान् ? तिनले भने होलान्, हो, प्रेममा आकर्षण हुन्छ, अनुराग हुन्छ । आसक्ति र आतुरता हुन्छ । अधिकार र जिम्मेवारी पनि हुन्छ । र, हामीले भन्यौँ, यिनीहरूको उचित सन्तुलन नै प्रेम हो ।

यही फास्टफुड जमानामा पनि अव्यक्त प्रेममा जुन ताकत हुन्छ, त्यो बिहान-बेलुकी पुनर्वर्गीकरण गरिरहनुपर्ने प्रेममा कहाँ हुन्छ र ? भ्यालेन्टाइन डेमा उपहारमा प्राप्त गुलाफको फूलको जस्तो आयु भएको प्रेम गर्नेहरूलाई के थाहा चिरायु प्रेमको कथा ।

अन्त्यमा आफ्नै कथा,

मेरा पिताजीले आजभन्दा झन्डै आधा शताब्दीअघि अन्तर्जातीय विवाह गरे । परम्पराको साङ्लो आजजति खुकुलो निश्चय नै थिएन । जातीय विभेदलाई कागजी रूपमै भए पनि दण्डित मानिएको मुलुकी ऐन आइसकेको पनि थिएन । त्यसैले त्यो एकप्रकारको विदोह नै मानिन्थ्यो अन्तर्जातीय विवाह : एउटा तागाधारी ब्राह्मणपुत्रले मतुवालीलाई विवाह गर्नु । उहाँहरूको प्रेम र विवाहको पहिलो निसानी म जेठो सन्तान । जबदेखि मैले होस सम्हालेँ उहाँहरूको जीवन दुःख र संघर्षले भरिपूर्ण देखँ । सादा, तर कठिन जीवन थियो, त्यो । दुःख-सुखका उतार-चढाव धेरै थिएनन् । आफूले मन पराएर विवाह गरेकीलाई कति मन दिन सक्नुभयो कुन्नि ! प्रेमको कस्तो अर्थ रह्यो उहाँहरूको जीवनमा मैले बुझ्न पाइसकेको थिइनँ । प्रेमको अभिव्यक्ति कस्तो हुन्थ्यो म राम्ररी जान्दिनथँ सायद, तर त्यस्तो उदाहरण कहिल्यै थाहा पाइनँ । जब मेरी आमाको अल्पायुमै मृत्यु भयो । पिताजी मूर्छित हुनुभयो । एकातिर आमाको पार्थिव शरीर अर्कातर्फ मूर्छित हुँदै, बौरिँदै गरेका मेरा पिताजी । हामी भर्खरै आमाको ममताबाट वञ्चित बनाइएका, हुर्कंदो उमेरका सन्तान वरिपरि नै थियौँ । झन्डै मध्य भइसकेको मंसिरको रात थियो, त्यो । अन्योल, अत्यासपूर्ण र अन्धकार । छिमेकी, आफन्त सान्त्वना दिँदै थिए । जगको रीत यस्तै हो भनेर सम्झाउन खोज्दै थिए । तैपनि, उहाँलाई सम्हालिन गाह्रो भइरहेको थियो । ‘मानिसलाई दुःखको वेलामा जोडेको फुटेको माटाको हाँडी त कति प्यारो हुन्छ, मेरो त जीवनसंगिनी । मलाई सबभन्दा दुःखको वेलामा साथ दिने मान्छे । म कसरी सहन सकुँला र यो वियोग ।’ सायद मेरा पीताजीले व्यक्त गरेको प्रेमको ‘बोल्ड स्टेटमेन्ट’ थियो त्यो । अफसोच त्यो ढिलो गरी आएको स्टेटमेन्ट साबित भयो । तर, आज मलाई लाग्छ, मेरी आमाले जीवनभर अव्यक्त रहेको त्यसको मर्म बुझेकी थिइन् । मेरा लागि ती सबभन्दा आदर्शप्रेमी हुन् ।

(यो लेख नया पत्रिका दैनिकमा 2009-05-09, Saturday प्रकाशित भइ सकेको छ ।)

He is a lecturer at the Central Department of Sociology/Anthropology, Tribhuvan University
sureshdhakal@cdsatu.edu.np

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: